प्रदेश नं. ३ को पहिलो बैठकः मुख्यमन्त्रीका दाबेदारदेखि विवेकशीलसम्मका सांसदको यस्तो सम्बोधन

मकवानपुर– मकवानपुरको हेटौँडामा पहिलोपटक प्रदेशसभा बैठक बसेको छ । हेटौँडामा बसेको प्रदेश नं. ३ को संघीय संसद बैठकले माघ २७ गते सभामुखको निर्वाचन गर्ने निर्णय गरेको छ । बिहीबार दिँउसो १ बजेदेखि २ बजेसम्म एकघण्टा चलेको बैठकले माघ २७ गते सोमबार दिउसो ३ बजे सभामुख चयनको मिति तोक्दै संसद चलाउन अन्तरिम प्रदेशसभा कार्यविधि पनि पारित गरेको छ । पहिलो बैठकको अध्यक्षता संसदका जेष्ठ सदस्य डोरमणि पौडेलले गरे । उनले सभामुखको निर्वाचनको मिति तोक्दै सोका लागि तयारी गर्न निर्देशन समेत दिएका छन् ।

यस्तै संसद बैठकले संसद सञ्चालनका नियमावली नबनुञ्जेल राजनीतिक दलका प्रतिनिधिको छलफलबाट बनेको संसद सञ्चालनको आन्तरिक कार्यविधि पनि पारित गरेको छ । बैठकले प्रदेशसभा सञ्चालनका लागि मुख्य चार दलबाट एक–एकजना सदस्य रहेको समिति पनि निर्माण गरेको छ । बैठक माघ २७ गते दिँउसो ३ बजेससम्मका लागि स्थगित भएको छ ।

पहिलो बैठकमा विभिन्न दलका प्रतिनिधि सांसदहरुलाई मन्तव्य राख्न समय दिइएको थियो । बैठकमा नेकपा एमाले, माओवादी केन्द्र, कांग्रेस, विवेकशील साझा, नेमकिपा, राप्रपा र राप्रपा प्रजातान्त्रिकका सांसदहरुले आ–आफ्नो धारणा राखेका थिए ।

अष्टलक्ष्मी शाक्य, सांसद, नेकपा एमाले
बैठकको शुरुमा बोल्ने अवसर पाएकि एमालेकी प्रदेश सांसद अष्टलक्ष्मी शाक्यले जनताले विकास र समृद्धिका लागि अमूल्य  मत दिएको भन्दै गहन जिम्मेवारी पूरा गर्नुपर्ने दायित्व रहेको बताईन । उनले सातवटै प्रदेशलाई व्यवस्थित गर्न सक्यो भने स्थानीय तह पनि बलियो हुने र प्रदेशले केन्द्रीय सरकारलाई पनि बलियो बनाएर देशलाई समृद्ध बनाउन सकिने विचार व्यक्त गरिन् । उनले अब लोकतान्त्रिक संस्कार, संस्कृति, मूल्य मान्यताको विकास गर्दै यो प्रदेशमा सबै दलले सहकार्य गरे अघि बढ्नुपर्नेमा जोड दिइन् ।

जनताले राजनीतिक स्थिरता, समृद्धि, सुशासन र सामाजिक न्यायका लागि मतदान गरेको भन्दै उनले काम गर्ने क्रममा आउने अवसर र चुनौतीलाई एकजुट भएर अघि बढ्न आग्रह गरिन् ।

शालिकराम जमकट्टेल, सांसद, माओवादी 
माओवादी केन्द्रका प्रदेश सांसद शालिकराम जमकट्टेलले संसद बैठकमा बोल्दै देशमा विगतमा धेरै प्रकारका आन्दोलन र परिर्वतन भएपनि नेपाली समाजको विकास नहुनुमा अनुकुल शासनसत्ता नभएको बताए । उनले विभिन्न परिर्वतन पार गर्दै आजदेखि शूरु भएको प्रदेशसभा बैठकपछि काँधमा ठूलो जिम्मेवारी थपिएको उल्लेख गरे ।  नेपाली जनताले चाहे अनुसारको शान्ति सुशासन, विकास र समृद्धिलाई अगाडि बढाउनुपर्नेमा उनले जोड दिए ।

नेपाली जनताले आफुलाई विभिन्न आशंकाले हेरिरहेको, नेपालाई शान्ति र समृद्धको बाटोमा लान्छन् त भनेर जनताले प्रश्न गरिरहेको बताउँदै उनले विगतमा राजनीतिक दलको भूमिका सन्तोषजनक नभएकोले जनताले शंकाको दृष्टिले हेरिरहेको बताए ।

उनले नेपालको यो राजनीतिक परिवर्तनलाई आत्मसात गर्दै सबै दल एकै ठाँउमा रहनुपर्नेमा जोड दिए । प्रदेश नं. ३ नेपालको राजनीतिको केन्द्रमा रहेको, राजधानी रहेको र विभिन्न किसिमका बिबिधता भएकोले यो प्रदेशले नेतृत्वदायी भूमिका निर्वाह गर्न र नमुना प्रदेश बनाउन प्रण गर्न आग्रह गरे ।

ईन्द्रबहादुर बाँनिया, सांसद, नेपाली कांग्रेस 
संसद बैठकमा बोल्दै नेपाली कांग्रेसका प्रदेश सांसद ईन्द्रबहादुर बाँनियाले ३ नम्बर प्रदेशको अस्थायी राजधानी मकवानपुर तोकेर सरकारले बैज्ञानिक निर्णय गरेको उल्लेख गरे । उनले हेटौँडा नेपालको प्रमुख नाका वीरगञ्जसँग जोडिएको, लोकमार्ग आउँदै गरेको, फाष्ट ट्रयाकको नजिक रहेको र व्यापारिक केन्द्र भएकोले प्रदेशको राजधानी मकवानपुर उपयुक्त रहेको जिकिर गर्दैै आफ्नो जिल्लामा प्रदेश सांसदहरुलाई स्वागत गरे ।

उनले अब मुलुक बनाउने हो सहमति सहकार्यमा अघि बढ्नुपर्ने, बहुमत लाद्न नहुने भन्दै लोकतन्त्र शब्दमा नभई व्यवहारमा आउने, शब्दले नभई व्यवहारमा समृद्धि ल्याउन आग्रह गरे । उनले ठूला दलहरुले यसबारे सोच्नुपर्ने उल्लेख गर्दै जनसंख्या र संसद संख्याले सबै हिसाबले यो प्रदेश ठूलो भएकोले सबै एकजुट भएर अघि बढन् आग्रह गरे ।

उनले धेरै लामो समयदेखि शहीदहरुको रगत बगिरहेको भन्दै अब मुलुकलाई समृद्धिको बाटोमा लाग्नुपर्नेमा जोड दिए । उनले लोकतन्त्र नमान्ने शक्ति पनि अहिले लोकतन्त्र मान्न थालेको बताउँदै देशको भलो चिताउने हो भने सबै सहमति सहकार्यमा अघि बढ्नुपर्ने उल्लेख गरे । उनले अहिले सरकारले तोकेको अस्थायी राजधानीलाई भोली स्थायी राजधानी बनाउन पनि आग्रह गरे ।

रमेश पौडेलः सांसद, विवेकशील साझा 
विवेकशील साझा पार्टीका सांसद रमेश पौडेलले राजनीतिक परिर्वतनको खोजीमा धेरै समय व्यतित गरिसकिएको र उपलब्धीहरु पनि धेरै हासिल गरिसकिएको बताए । त्यसकै परिणाम प्रदेशसभा रहेको बताउदै उनले राजनीति सङ्लिनुपर्ने र गति लिनुपर्नेमा जोड दिए । उनले  संघीयताको अभ्यासलाई सफल बनाउनुको अब कुनै विकल्प नभएको बताउँदै नेपाल  विविधतायुक्त मुलुक भएको र अब सहभागितामुलक ढंगले लोकतन्त्रलाई ब्यवहारिकताबाट पुरा गर्नुपर्ने बताए ।

उनले प्रदेश नं. ३ मा ५५ प्रतिशतभन्दा बढी जनसंख्या भएको, विविध विविधता भएको, हिमाल, पहाड र भित्री मधेशका मनोरम उपत्यका पनि रहेको बताउँदै यसलाई आत्मसात गर्दै अघि बढेमा सफलता हासिल गर्न सक्ने उल्लेख गरे ।

सुरेन्द्र गोसाई, सांसद, नेमकिपा 
नेपाल मजदुर किसान पार्टीका सांसद सुरेन्द्र गोसाईले ठूला दलहरु दुरदर्शी नभएकाले प्रदेशसभाको बैठकको तयारी समेत राम्रो नभएको उल्लेख गरे । संघीयता अहिले पौडी खेल्न नजानेको बालक पोखरीमा हामफालेको जस्तो भएको उल्लेख गरे ।

उनले नेपाली जनताको चाहना बिकेन्द्रीकरण र समृद्धि रहेको र त्यसलाई पूरा गर्नुपर्ने आफ्नो दायित्व भएको बताउँदै प्रदेश नं.३ मा भागबण्डा, भ्रष्टाचार, ढिलासुस्ती, महँगी नहोस् भन्ने कुरामा जोड दिए ।  उनले शासक दलहरुले समृिद्धको भाषण गर्ने तर देशमा गरिबी, भोकमरी,भष्ट्राचार, बेरोजगारी कम नभएको, शोषण महँगी बढिरहेको उल्लेख गरे ।  भारतीय एकाधिकार र पूँजीको दादागिरी भइरहेको र त्यसलाई तोड्दै राष्ट्रिय स्वाधिनता, अखण्ड्ता, स्वाभिमानलाई बचाउने दिशामा अघि बढ्न सकियो भन्ने सुभेक्षा ब्यक्त गरे ।

 

लिला गुरुङ, सांसद, राप्रपा प्रजातान्त्रिक 
राप्रपा प्रजातान्त्रिककी सांसद लिला गुरुङले आफ्नो दलले हरेक परिवर्तनमा सहभागिता जनाउँदै आएको बताउँदै संघीयताको नयाँ मोडमा आगामी दिनमा पनि पार्टीले साथ दिने बताईन् । उनले संघीयता भोली भारी पर्छकि भन्ने जन–जनको मनमा परेको तर आफुहरुले अपनाइरहेको संघीयता भोली संकटमा पर्ने होकि भन्ने चिन्ता रहेको बताइन् ।

उनले भारत र अमेरिकाको एक प्रान्तजति नेपाल रहेको र दुई–तीन बर्षभन्दा बढी संघीयता नटिक्ने होकि भन्ने चिन्ता रहेको उल्लेख गरिन् । थोरै साना देशले मात्र संघीयता अपनाएको उदाहरण दिँदै उनले सम्पूर्ण राजनीतिक दल मिलेर संघीयतालाई उत्कृष्ट बनाउँदै राष्ट्रको विकास गर्नुपर्नेमा जोड दिइन् ।

 रिता माझी, सांसद, राप्रपा 
राप्रपाकी सांसद रिता माझीले सर्वधर्म,समभाव र संबैधानिक राजतन्त्र पार्टीको मुल सिद्धान्त रहेको बताइन् । उनले पार्टीले संविधानलाई आलोचनात्मक समर्थन गरेको उल्लेख गर्दै प्रदेश नं.३ का जनताप्रति समर्पित भएर काम गर्ने प्रतिबद्धता जनाइन् । उनले यो प्रदेशलाई समृद्ध बनाउन, शोषित जनताको हितका लागि पाँच बर्षसम्म सेवा गर्न सबैलाई आग्रह गरिन् ।

प्रेमबहादुर मानन्धर, नयाँ शक्ति पार्टी 
यस्तै नयाँ शक्ति पार्टीका सांसद प्रेमबहादुर मानन्धरले संघीयताको बीउ रोप्न नदिने शक्ति सल्बलाइरहेको बेला यसको बीउ रोप्न सफल भएको र कलिलो संघीयतालाई मास्न खोज्नेहरु पनि सल्बलाई रहेको बताउँदै नयाँ शक्ति पार्टी त्यसको बिरुद्धमा लागिरहेको उल्लेख गरे ।

उनले ३ नम्बर प्रदेशको सरकार छिटो बनाउन आग्रह गर्दै भूकम्प प्रभावितको समस्या छिटो समस्या समाधान गर्न र सिमानाका जनताले दुःख झेल्नु नपर्ने वातावरण निर्माण गर्न आग्रह गरे । उनले नेपाल दुई राष्ट्रको बीचमा रहेको र जनताले स्वाभिमान र  स्वाधिन राष्ट्र खोजेको भन्दै जनताको भावनालाई सम्वोधन गर्नुपर्र्नमा जोड दिए ।


advertisements

.
Just In KhabarSite
© all rights reserved
Crafted with by NetKUTI