इन्टरनेसनल माउन्टेन फिल्म फेस्टिभल (किम्फ) घन्टी बजाएर सुरु भयो

काठमाडौं : कुमारी सिनेमा हलमा बिहीबारबाट १५औं इन्टरनेसनल माउन्टेन फिल्म फेस्टिभल (किम्फ) सुरु भएको छ । ३ पुससम्म जारी रहने यो महोत्सवको उद्घाटन किम्फका तीनजना निर्णायक सदस्यले घन्टी बजाएर गरे ।उद्घाटनमा नेसनल ज्योग्राफीसितको सहकार्यमा निर्मित फिल्म ‘दी लास्ट हनी हन्टर’ देखाइयो ।

फिल्ममा भोजपुरको हिङ उपत्यकामा भीरमौरीको चाका काढ्ने जोखिमपूर्ण कार्य समेटिएको छ । उद्घाटन समारोहमा किम्फका अध्यक्ष वसन्त थापाले १७ वर्ष अघिबाट सुरु भएको किम्फ यो १५औं शृंखलासम्म आइपुग्दा तन्नेरी भएको बताए । यसपटक नेपाललगायत ७६ देशबाट तीन सयभन्दा बढी फिल्म आएकामा ३७ देशका ७८ फिल्म प्रदर्शन गर्न लागिएको पनि अध्यक्ष थापाले जानकारी गराए । उनका अनुसार दर्शकको अपेक्षाअनुरूप साहसिक खेलकुद, पर्वतारोहण, पर्वतीय समाज र संस्कृति, पर्वतीय जीवनशैली तथा वातावरण संरक्षण आदि विषय समेटिएका वृत्तचित्र, कथानक चलचित्र, लघु चलचित्र, एनिमेसन र प्रयोगवादी फिल्महरू देखाइनेछन् ।

किम्फका निर्देशक रम्यता लिम्बूले यसपटक अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा १५ वटा फिल्म र प्रतिस्पर्धाबाहिर ४८ वटा फिल्म परेका बताइन् । नेपाल पानोरमाअन्तर्गत १५ वटा फिल्म देखाइने पनि उनले जानकारी दिइन् । उनले भनिन्, ‘यसअघि हामीले ‘डकल्याब’ सुरु गरेर युवा नेपाली फिल्मकर्मीलाई पुनर्सम्पादन कार्यमा सघाइरहेका थियौं । यसपटक किम्फ लाइभ डक पिच नयाँ कार्यक्रम सुरु गर्दैछौं र त्यसमा उत्कृष्ट ठहरिनेलाई नगद रकम पुरस्कार पनि दिनेछौं ।’

यसपटकको निर्णायकमा जोआना क्रोस्टन, भारतका रीना मोहन र नेपालका केसाङ छेतेन सदस्य छन् । महोत्सव उद्घाटनमा यी तीन जुरीले महोत्सवमा निर्णायकमा चयन भएकोमा खुसी व्यक्त गरे । रीना मोहनले डकुमेन्ट्री सम्पादनबारे प्रवचन दिने बताइन् । त्यसैगरी ‘दी आइल्यान्ड्स एन्ड द हवेस’ नामक डकुमेन्ट्रीको प्रदर्शनका साथै त्यसका ब्रिटिस निर्देशक माइक डेद्वारा विशेष प्रवचन हुनेछ ।


advertisements

.
Just In KhabarSite
© all rights reserved
Crafted with by NetKUTI