नेपाली कांग्रेस आफू मात्रै डुबेन, राप्रपा पनि डुबायो- दुर्भाग्यपूर्ण तालमेल

काठमाडौं। निर्वाचनमा आश्चर्यजनक पराजित भएसँगै कांग्रेस तेस्रो दलको हैसियतमा खुम्चिने देखिँदै छ। प्रत्यक्ष तर्फ त कांग्रेसको तेस्रो स्थान लगभग तय भैसकेको छ ।

पशुपति समशेर, कमल थापा, दीपक बोहोरा र सुनिल थापा पराजित भइसकेका छन् । बिक्रम पाण्डेको मतगणना सकिएको छैन तर उनी माओवादी केन्द्रका अध्यक्ष प्रचण्डभन्दा निकै पछि छन् र उनको जित्ने संकेत देखिन्न ।

निर्वाचन परिणामले कांग्रेसका धेरै हेभीवेट र केन्द्रीय नेताहरुलाई पराजय सुम्पेको छ । तर, निर्वाचनमा कांग्रेस मात्र होइन अन्य दलका चर्चित नेताहरु पनि नराम्रोसँग पराजित भएका छन् ।

कांग्रेससँग मिल्दा सबैभन्दा ठूलै झट्का दुई राप्रपाका हेभीवेटले पनि व्यहोरे । साना दल भए पनि दुई राप्रपाका केही नेताहरु आफ्नो निर्वाचन क्षेत्रमा बलियो जनमत भएका नेतामा पर्दथे ।

राप्रपाका अध्यक्ष कमल थापा, राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपति समशेर जबरा, प्रजातान्त्रिककै उम्मेदवारहरु धनकुटाका सुनिल थापा, चितवनका बिक्रम पाण्डे, रुपन्देहीका दीपक बोहोरालाई जित्न सक्ने उम्मेदवारका रुपमा आंकलन गरिएको थियो । तर यी कसैले पनि जित्न सकेनन् ।

पशुपति समशेर, कमल थापा, दीपक बोहोरा र सुनिल थापा पराजित भइसकेका छन् । बिक्रम पाण्डेको मतगणना सकिएको छैन तर उनी माओवादी केन्द्रका अध्यक्ष प्रचण्डभन्दा निकै पछि छन् र उनको जित्ने संकेत देखिन्न ।

यी सबै बलिया उम्मेदवारहरु कांग्रेसको समर्थनमा मैदानमा उत्रिएका थिए । दुवै राप्रपाले कांग्रेससँग गठबन्धन गरेर मैदानमा आएकोमा सबै पराजित भए । तर, कांग्रेसका कृष्ण सिटौलाले छोड्न नमानेकै कारण अपवादको रुपमा बाम गठबन्धनसँग मिल्न पुगेका राप्रपाका महामन्त्री राजेन्द्र लिङदेन भने जीतको संघारमा छन् ।

रोचक त के भने लिङदेनले कांग्रेसका बलिया उम्मेदवार मानिएका केन्द्रीय नेता कृष्ण सिटौलालाई पराजित गर्दैछन् । यो रोचक संयोगले दुवै राप्रपाको नमिठो पराजयको कारक कांग्रेससँगको तालमेल ठहर्याएको छ ।

निर्वाचनअघि दुवै राप्रपा बाम गठबन्धनमा आउने चर्चा पनि चलेको थियो । तर, कुरा नमिल्दा यी दुई दल कांग्रेसतिर लागे । लोकतान्त्रिक गठबन्धनमा उनीहरु लहसिनु स्वाभाविक नै थियो ।

अहिले बाम गठबन्धनसँग जोडिएकै कारण जितउन्मुख रहेका राजेन्द्र लिङदेन एकमात्र विजेता हुने र बाँकी कांग्रेससँग मिलेका सबैले हार्ने अवस्था देखिएको छ । यो अवस्थामा आउँदा यदि बाम गठबन्धनमा आएका भए दुवै राप्रपाका यी हेभीवेट उम्मेदवारले जित्ने थिए भन्ने अनुमान गर्न सकिन्छ । यी हेभीवेटलाई बेलैमा बामसँग मिलेको भए जाति हुने रहेछ भन्ने पछुतो अहिले भएको होला कि नहोला ?


advertisements

.
Just In KhabarSite
© all rights reserved
Crafted with by NetKUTI