के तपाईंको भुँडी ठुलो छ ? ग्यास्ट्रिक हैन यो मुटुरोगको संकेत हुनसक्छ

मुटुको रोग लागेको हो होइन भन्ने पत्ता लगाउन विभिन्न प्रकारका जटिल जाँच गराउनुपर्छ भनेर बिरामीलाई निक्कै चिन्तित बनाएको हुन्छ । आत्तिनु पर्दैन, यो रोगको सजिलोसंग निदान गर्ने तरिका पनि छन् । एउटा नाप्ने फित्ता महत्वपूर्ण साधन हुन सक्छ । अमेरिकी मुटु संघको बैठकमा हालै प्रस्तुत भएको एक प्रतिवेदनमा ठुलो कम्मर हुनु हृदयाघातको वा मुटुको रोगलाई छिटो निम्त्याउनु हो भनी जोड दिइएको छ । मुटु रोग विशेषज्ञहरु धेरै देशमा मृत्युको अग्रणी कारण बनेको मुटुको रोग लाग्ने सम्भावना बुझ्नका लागि कोलेस्टेरोलको स्तर, रक्तचाप, मोटोपन, अरु जाँचहरु नियमित रुपमा गराइरहन्छन् ।

डा. भारत रावत

मुटुको रोगबाट मृत्यु हुनाको प्रमुख कारण धूमपान र उच्च रक्तचाप हो भने त्यसपछि मोटोपन पनि हो । शरीरमा जम्मा भएको बोसो र हृदय रोग लाग्ने एउटा महत्वपूर्ण संकेत हो भनी तथ्यांकहरुले देखाएका छन् । बोसो बीचमा रहेको स्याउको आकारको पेट पिँधमा फैलिएको आरुको आकारको पेटभन्दा खतरनाक हुनछ । फ्रान्समा सन् १९६७ देखि १९८४ सम्म हृदयाघात वा मुटुसंबन्धी रोगबाट मृत्यु हुने सात हजार प्रहरीमा यो रोगको अध्ययन गरिएको थियो । उक्त अध्ययनमा कम्मरको गोलाई र शरीरको उचाइको अनुपातमा तौल कति रहेछ भन्ने पनि अभिलेख गरिएको थियो ।

शरीरको उचाईको अनुपातमा तौलको सूची (बिएमआई) कुनै व्यक्ति धेरै मोटो वा असाध्यै मोटो छ कि छैन भनी जान्न प्रयोग रिने सूची हो । यसअध्ययनले पेटको घनत्व बढी भएकालाई मुटुसंबन्धी रोग लागेको र चाँडो मृत्यु भएको तथ्य देखाएको थियो । यसबाट के प्रष्ट हुन्छ भने बढी तौल भएपनि कम्मरको गोलाई कम भएका मानिसलाई अकस्मात मृत्यु हुने डर कम हुन्छ । पुरुषका लागि ३७ इन्च गोलाई अन्तिम सीमा हो भने महिलाका ३३ इन्च हो । यसभन्दा बढी भए हृदयाघात हुने जोखिम बढ्छ ।

४५ वर्ष र सोभन्दा माथिका अमेरिकन वयस्क मानिसमा उनीहरुको कम्मर तथा गर्धनको गोलाई, तौलको मापन र पाखुरा तथा तिघ्राको छालाको बाक्लोपनबारे एक अनौठो खालको अध्ययन गरिएको थियो । यस अध्ययनले पनि जसको शरीरको बीचमा बोसो जमेको हुन्छ उसलाई विशेष प्रकारको मुटुको रोगबढी लाग्ने कुरा पक्का हो भने देखायो ।

यो रोगलाइ चिकित्साशस्त्रमा ‘लेफ्ट भेन्ट्रिकुलर डायस्टोलिक डिस्फङसन’ भनिन्छ । यो मुटु ठीक तरिकाले र राम्रोसंग चलेको छ÷छैन भनी मापन गर्ने विधि हो । पाँच वर्षको अन्तरालमा मृत्यु भएका मान्छेका शवको शारीरिक बनोटको विश्लेषण गर्दा यस अध्ययनले कमजोर डायस्टोलिक फङसन र ठुलो कम्मर भएकालाई मृत्युको खतरा बढी हुन्छ भन्ने पत्ता लगाएको थियो र तौल, उचाई र शरीरको पिण्डको सूची लिनुको साटो अब कम्मर र गर्धनको गोलाईको नाप लिनु बेस हुन्छ भन्ने निचोड निकालेको थियो ।

केही वर्षपहिले तेस्रो अध्ययन पूरा भएको थियो । यसलाई ‘इन्टर हार्ट स्टडी’ नाम दिइएको थियो । यस अध्ययनलाई हृदयाघात हुने जोखिमका कारण के के हुन् भन्ने पत्ता लगाउन अहिलेसम्म भएको सबैभन्दा ठुलो अनुसन्धनात्मक योजनाका रुपमा लिइएको छ । यो अध्ययन नेपाललगायत ५२ मुलुकमा गरिएको थियो । नेपालमा यसलाई चाहिने तथ्यांक त्रिवि शिक्षण अस्पताल र नर्भिक अस्पतालबाट लिइएको थियो । यस क्रममा शरीरको समग्र तौल अथवा बिएमआई को जाँच गर्नुभन्दा कम्मर र नितम्बको अनुपात लिनु जरुरी छ भन्ने स्पष्ट भएको थियो ।

कम्मर र नितम्बको अनुपात कसरी नाप्ने ? कम्मरको नाप लिँदा नाइटोदेखि गोलाई नाप्नुपर्छ । नितम्बको नाप लिँदा आफ्नो नितम्बको सबैभन्दा बढी फैलिएको भाग नाप्नुपर्छ । अनुपात कति हुनुपर्छ त ? पुरुषको ०.९ भन्दा कम र महिलाको ०.८ भन्दा कम । यदि यो अनुपात बढी छ भने आफ्नो तौल नियन्त्रण गर्न सुरु गरिहाल्नुपर्छ । तौलको व्यवस्थापन स्वस्थ रहन सबैले आफ्नो तौलको जानकारी लिनुपर्छ ।

यो सजिलैसंग जान्न सकिन्छ । यसको सूत्र हो, आफ्नो उचाई (सेन्टिमिटर) मा १०० घटाउने । त्यसपछि आउने प्रतिफल नै आफ्नो वाञ्छित तौल हुन्छ । यो भनेको यदि आफ्नो उचाई १७० सेन्टिमिटर छ भने त्यसमा १०० घटाइदिनुहोस्, बाँकी ७० केजी तपाईंको हुनुपर्ने तौल हो । उदाहरणका लागि यदि कसैको उचाई १६७ सेमि छ र उसको तौल ८८ केजी छ भने उसको हुनुपर्ने तौल बढीमा ६७ केजीमात्र हो ।

यसको मतलब उसको २१ केजी तौल बढी छ र उसले त्यो २१ केजी बढी तौल घटाउने लक्ष्य लिइहाल्नुपर्छ । तौल व्यवस्थापन भनेको खाने र अरु बानीको व्यवस्थापन हो, जसले तौल घटाएर केही रोग लाग्ने जोखिम घटाउँछ । साधारणतयाः मुटुका मांसपेशी र यसको कार्यक्षमता ३० वर्षको उमेरपछि कम हँुदैं जान्छ । यस्तो घट्ने क्रम कम गर्नका लागि शारीरिक गतिविधि बढाउँदैं लैजानुपर्छ । हामीलाई के कुरा थाहा छैन भने उमेर बढ्दै गएपछि हामी कति निष्क्रिय हुन्छौं । उमेर, सम्पत्ति र पेशागत कुरा बढ्दै गएपछि शारीरिक रुपमा हामी कार्यालय तथा घरको दैनिक क्रियाकलापमा निष्क्रिय हुँदैं जान्छौं । त्यसैले हामीले क्यालोरी नष्ट गर्न उपयुक्त कोशिस गर्नुपर्छ । यसका लागि हाम्रो दैनिक जीवन व्यायामसहितको क्रियाशिल हुनुपर्छ । नियमित व्यायामले रगतको कोलेस्टेरोल, ट्राइग्लिसराइड्स, मधुमेह तथा रोगका अन्य कारण तत्वहरु घटाउँछ ।

प्रत्येक दिन शारीरिक तवरमा सक्रिय वा क्रियाशिल रहने लक्ष्य राख्नुहोस् । तौल बढी वा ज्यादै मोटोपन भए पनि तपाईं स्वस्थ रहनसक्नुहुन्छ । २५ हजारभन्दा बढी स्वयम्सेवक र अनुसन्धानकर्ताले एउटा अध्ययनबाट के पत्ता लगाए भने शारीरिक तौलभन्दा तन्दुरुस्ती मृत्युको सशक्त भविष्यवाणीकर्ता हो । बढी तौल भएको तर शारीरिक रुपमा ठीक नभएको मानिसभन्दा बढी तौल भएपनि शारीरिक रुपमा तन्दुरुस्त मानिसमा मृत्युको खतरा कम हुन्छ । युवाहरुले प्रत्येकदिनजस्तो ४० देखि ५० मिनेट व्यायाम गर्नुपर्छ ।

नियमित खाना खानु स्वास्थ्यवद्र्धक खानाको महत्वपूर्ण भाग हो । दिनभरिमा कम्तीमा ५ पटक थोरै थोरै खाना खानुपर्छ र खान कहिल्यै पनि छाड्नुहुँदैंन । खाना छाड्नेले त्यसपछिको खाना खाँदा धेरै खाने सम्भावना बढी हुन्छ । जहिले जहाँ पायो त्यहाँ खाएको भन्दा योजनाबद्ध तरिकाले समय समयमा खाएको खाना बढी सन्तुलित हुन्छ ।

(डा. रावत नर्भिक अस्पतालमा कार्यरत छन् । उनले कार्डियोलोजीमा डिएम गरेका छन् ।)


advertisements

.
Just In KhabarSite
© all rights reserved
Crafted with by NetKUTI