१७ वर्षपछि महजोडीले ‘शत्रुगते’ नामक चलचित्र बनाउदै

काठमाडौं । महसञ्चारले १७ वर्ष पछि निर्माण गर्न लागेको कथानक चलचित्र ‘शत्रुगते’ को शुभमुहुर्त गरिएको छ । सोमबार काठमाडौंको कमलादीस्थित गणेशस्थानमा चलचित्रको शुभमुहुर्त गरिएको हो । हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ लगायतका कलाकारको उपस्थितीमा चलचित्रको शुभमुहुर्त गरिएको हो ।

चलचित्रको शुभमुहुर्त सँगै निर्माण टोली छलचित्र ‘शत्रुगते’ को छायांकनका लागि वीरगन्ज हिँडेको निर्देशक प्रदीप भट्टराईले जानकारी दिए ।

“जम्मा ५० दिन छायांकन हुन्छ । वीरगन्जमा १५ दिन सुटिङ गर्छौं,” निर्देशक भट्टराइले भने, “हरि दाई र मदन दाई पनि वीरगन्ज जाँदै हुनुहुन्छ ।”

ad
चैत ९ गते प्रदर्शनमा आउने चलचित्र वीरगन्जसहित काठमाडौं र पहाडका जिल्लामा खिचिने छ । चलचित्रले हिमाल, पहाड र तराईलाई जोड्ने काम गर्ने हरिवंश आचार्यले चलचित्र निर्माणको घोषणा सभामै बताइसकेका छन् ।

एक महिना अगाडि ‘शत्रुगते’ निर्माणको घोषणा गरिएको थियो । हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठको उपस्थितिमा चलचित्र निर्माणको घोषणा गरिएको थियो ।

३७ वर्ष पुरानो महसञ्चारको ब्यानरमा बन्न लागेको चलचित्र व्यापारका लागि भन्दा पनि गुणस्तरका लागि बनाउन लागेको हास्यकलाकार हरिवंश आचार्यले बताएका छन् । “हामीले यो चलचित्र कमाउने भन्दा पनि नेपाली चलचित्र पनि गुणस्तरीय बन्छन् भन्ने उदेश्यले बनाउन लागेका हौं,” आचार्यले भने, “हामी फरक धारमा रहेर चलचित्र बनाउने छौं । आशा छ यहाँहरुको आशीर्वादले राम्रो बन्नेछ ।”

‘१५ गते’, ‘लालपूर्जा’, ‘सुरवेसुर’ जस्ता महसञ्चारका टेलीसिरयल अहिले चलेका अलगधारका चलचित्र जस्तै भएको भन्दै उनले चलचित्र निर्माणको घोषणमा भनेका थिए, “अहिले दर्शकले मन पराइदिनुभएका अलग धारका चलचित्र त हामीले पहिला नै बनाइसकेका रहेछौं । सानो पर्दामा देखाएका मात्रै रहेछौं ।”

निर्देशक प्रदिप भट्टराईले, “‘जात्रा’ मन पराउने दर्शकले त यो चलचित्र मन पराउनु हुन्छ नै सँगै अन्य दर्शकले पनि ‘शत्रुगते’ मन पराउनु हुनेछ भन्ने मेरो विश्वास छ ।”
हरिवंश आचार्यको कथा रहने चलचित्रको पटकथा दीपकराज गिरी र प्रदीप भट्टराईले लेखेका छन् । निर्देशक भट्टराईले ७ महिना लगाएर स्क्रिप्ट तयार पारेको बताए ।

संवाद हरिवंश आचार्य र प्रदीप भट्टराईको रहेको चलचित्र दीर्घ गुरुङले खिच्नेछन् । राजनराज शिवाकोटीको संगीत रहने चलचित्रको कोरियोग्राफी कविराज गहतराजले गर्नेछन् ।

चलचित्र ‘शत्रुगते’ का संगीतकार राजनराज शिवाकोटीले विगतमा आफूले तयार पारेका मौलिक गीत जस्तै यो चलचित्रमा पनि मौलिक गीत सिर्जना गरेको जानकारी दिए । उनले भने, “यो चलचित्रका लागि मैले तरकारी सम्बन्धि गीत तयार गरेको छु । यो पनि सन्देश मुलक गीत छ ।”

चलचित्रमा महजोडीसँगै दीपकराज गिरी, दिपाश्री निरौला, शिवहरी पौड्याल, राजाराम पौड्याल, प्रियंका कार्की, आंचल शर्मा, बसुन्धरा भुसाल, किरण केसी, नरेन्द्र कंशाकार लगायतका कलारकारले अभिनय गर्नेछन् । बाह्रखरी


advertisements
Just In KhabarSite
© all rights reserved
Crafted with by NetKUTI