विप्लव प्रतीकको ९ बर्ष लगाएर लेखिएको उपन्यास बजारमा आउदै 

असोज ३०, २०७४ ललितपुर : कवि एवं गीतकार विप्लव प्रतीक अब उपन्यासकारका रुपमा नेपाली साहित्यका पाठकमाझ आउदैछन्। उनले ९ वर्ष लगाएर लेखेको उपन्यास ‘अविजित’ लिएर पाठकसामु आउने जानकारी दिएका छन्। ‘हर रात सपनीमा ऐँठन हुन्छ, गाउँमा कतै पहिरो गयो कि…’ का गीतकार र कवि विप्लव फरकखाले उपन्यास लिएर पाठकसामु आउन लागेका हुन्। 

उपन्यासबारे जानकारी दिन सोमबार ललितपुरमा आयोजित कार्यक्रममा विप्लवले उपन्यास लेखनको अनुभव सुनाएका थिए। उनले सन् २००८ मा लेख्न थालेको उपन्यास सन् २०१७ मा पूरा भएको जानकारी दिए। उनले सन् २००८ मा सुरु गरेको उपन्यास सन् २०१२ मा पहिलो ड्राफ्ट लेखिसकेको र त्यसलाई अन्तिम रुप दिन अर्को ५ वर्ष लागेको जानकारी दिए। उनले उपन्यास लेखनका साथै सम्पादन समेत आफैले गरेकोले समय लागेको बताए। 
गद्य लेखनमा खासै रुची नभएको र ‘नजान्ने’ बताउने विप्लवले गद्य लेखन पत्रकार किशोर नेपालले नागरिक दैनिकको सम्पादक रहेको बेला निबन्ध लेख्न भनेपछि थालनी गरेको बताए। जसमा आफू विप्लव प्रतीक कसरी भए भन्नेबारे निबन्ध लेखेको उनले सम्झिए। उनले आफ्नो उपन्यासमा आफ्ना निजत्व रहेको बताए। 

हरेक साहित्यकारले चल्तीको भन्दा फरक नै लेख्ने उनको भनाइ थियो। ‘हामीले आ-आफ्नो जीवन भोगिरहेका हुन्छौं, आफ्ना आफ्ना दर्द हुन्छन्, कहिँकतै तिनमा समानता हुन्छ। तिनका भोगाइ फरक फरक हुने भएकोले लेखन पनि फरक हुन्छ।’ उनले आफूले उपन्यासमा आफूले भोगेको कालखण्डका अभिव्यक्त गर्न नसकेका कुरा लेखेको बताए। साहित्यकार बुद्धिसागरले विप्लवका उपन्यासमा काव्यिक शैली रहेको बताए। 
उनले शब्द पनि तौलेर लेखेको पाएको बताए। उनले भने, ‘विप्लवदाइका पुस्तकका हरेक शब्दहरु तौली तौली राखिएका छन्।’ उनले गम्भीर पाठक विप्लवले लेखनमा पनि गाम्भिर्यता कायम राखेको बताए। प्रकाशक भुपेन्द्र खड्काले विप्लव प्रतीकको उपन्यासमा विशेष र फरकखाले साहित्यिक शक्ति भएको बताए। 

उपन्यासमा विप्लवले भोगेको कालखण्डको फरकखालको प्रस्तुती रहेको उनको भनाइ थियो। बुकहिलबाट प्रकाशित हुने उपन्यास कार्तिक ११ गते सार्वजनिक हुनेछ । थाहाखबरबाट । 


advertisements
Just In KhabarSite
© all rights reserved
Crafted with by NetKUTI