साली लिएर गायब भेना बद्री पंगेनी I
फेसबुकमा साथीसँग बाँड्नुहोस

गायक बद्री पंगेनी गत साता अचानक बेपत्ता भएका छन्। बद्री एक्कासि हराएपछि उनका सहपाठीहरूले बद्रीको खोजी तीव्र बनाएका थिए। हराएका बद्रीका बारेमा बुझ्न साप्ताहिकले पनि प्रयास गर्यो। बेलुका बद्री आफैंले फोन गरेर भने- 'म त साली लिएर हिडें है'।
अचम्म पर्ने कुरा थियो यो, उनले फेरि थपे- 'एउटी मात्र होइन, दुई- दुईवटी साली लिएर भाग्न लाग्या छु, अहिले अन्तर्राष्ट्रिय विमानस्थलमा छु, अब केही समयपछि सम्पर्कविहीन भैहाल्छु।' रहस्यमाथि थप रहस्य थपेर सम्पर्कविहीन भएका बद्री ठट्टा गर्न माहिर छन् भन्ने कुरा यथार्थ बुझेपछि थाहा भयो।
इटालीको रोममा आयोजना हुन लागेको अन्तर्राष्ट्रिय सांस्कृतिक कार्यक्रमका लागि नेपालको प्रतिनिधित्व गर्दै बद्री गायिका सिन्धु मल्ल र शकुन्तला थापाका साथ त्यसतर्फ लागेका रहेछन्। दुई गायिकालाई साली सम्बोधन गर्ने भएकाले हुनसक्छ, बद्री यी सालीहरूको मामिलामा खुबै जिस्किन रुचाउँछन्।
त्यसो त 'साली माग्दा सासूले लखेटिन, ससुरालीमा' गीतमा सालीका रूपमा गाउने गायिका पनि सिन्धु नै थिइन्। विवाहित सिन्धुलाई साली मान्ने भेनाले साली लिएर हिँडेको कुरा किन सनसनी बनाए, योचाहिँ उनैसँग सोध्नुपर्ला !


