आजदेखि १३ औ घलेगाउँ महोत्सव सुरु हुँदै I
फेसबुकमा साथीसँग बाँड्नुहोस
लमजुङ,वैशाख २३ । दक्षिण एसियाकै नमुना बन्न सफल लमजुङको ग्रामिण पर्यटकीय गाउँ घलेगाउँमा आजदेखि १३ औं घलेगाउँ महोत्सव सुरु हुँदै छ । “हिमालै हिमाल तथा प्राकृतिक दृष्यले भरिपूर्ण घलेगाउँ जाउँ, संसारभरिकै पर्यटक आउने नमूना स्थलमा रमाऔं” भन्ने नाराका साथ आयोजना गरिएको महोत्सव ३ दिनसम्म सञ्चालन हुने आयोजकले जनाएको छ । हिमालै हिमालको काखमा रहेको झण्डै छ सय पुरानो घलेगाउँमा आयोजना गरिएको महोत्सवमा हिमाली दृष्यावलोकनको अवलोकन, सुधारिएको होमस्टेसँगै परम्परागत गुरुङ संस्कृति झल्कने घाटु, सोरठी, सेर्गा, कृष्णचरित्रलगायतका नृत्य, नमुना चिया बगानको अवलोकन, गुरुङ खाना महोत्सव, सुर्योदय र सुर्यास्तको दृष्यावलोकन, सामूहिक भेडापालनको अवलोकन, बोटानिकल गार्डेन र भ्यू टावर, वातावरण संरक्षण र जलवायु परिवर्तन सम्बन्धी गीत तथा मनोरन्जनात्मक कार्यक्रमका साथमा गुरुङ जातीको पुरोहित पच्यु ध्याब्रीको मन्दिर उद्घाटन प्रमुख आकर्र्षणको रुपमा रहने छ । महोेत्सवको पूर्व मन्त्री तथा सभासद पृथ्वीसुब्बा गुरुङले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । २०५७ सालबाट शुरु भएको समुदायमा आधारित घलेगाउँको ग्रामीण पर्यटनले हाल धेरै फड्को मारेको र बर्सेनि १५ हजारभन्दा बढी पर्यटक घलेगाउँ जाने गरेको घलेगाउँ पर्यटन व्यवसस्थापन समितिका अध्यक्ष प्रेम घलेले बताउनुभयो । लमजुङको बेसीसहरबाट मोटरमा दुई घण्टामा घलेगाउ“ पुग्न सकिने भएपछि हाल आन्तरिक पर्यटकको आगमनमा निकै बृद्धि भएको छ । समुद्री सतहबाट २ हजार १ सय मिटर उचाइमा रहेको घलेगाउँबाट लमजुङ हिमाल, मनासुलु, माछापुच्छ«े, अन्नपूर्ण, हिमालचुली लगायतका हिमाल नजिकबाट नियाल्न सकिन्छ भने मस्र्याङदी, खुदी, मादी लगायतका नदीको मनोरम दृष्य देख्न सकिन्छ । पाहुनाहरुको न्यानो सत्कार गरिने घलेगाउँ पुग्ने पर्यटकलाई दही चामलको अक्षता र फूलमालाले स्वागत गर्दै दुलही झै भित्राउने चलन छ । १६ औं सताब्दीपूर्व घलेराज्यको राजधानी समेत रहेको घलेगाउँ अध्ययन अनुसन्धानका लागि पछिल्ला दिनहरुमा अनुसन्धानकर्ता, संस्कृतिविद, साहित्यकारहरु समेत पुग्ने गरेका छन् ।


