वैद्यलाई आफ्नै कार्यकर्ताले नै टेरेनन, निर्वाचनमा भाग लिने प्रस्ताव ठाडै अस्वीकार !

पोखरा– मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी)ले आगामी संसदीय तथा प्रदेश सभा निर्वाचनमा भाग लिने भनी गरेको प्रस्ताव कार्यकर्ताले अस्वीकार गरेका छन् ।

असोज २२ गतेदेखि पोखरामा जारी वैद्य माओवादीको राष्ट्रिय सम्मेलनमा बुधबार वैद्यले प्रतिनिधि पर्यवेक्षकको सुझाव विपरित निर्वाचनको उपयोग गर्नुपर्ने सुझाव राखेपछि प्रतिनिधि पर्यवेक्षकहरुले अस्वीकार गरेका छन, रातोपाटिमा खबर छ ।


सहभागीकाअनुसार अघिल्लो निर्वाचन बहिष्कार गरे पनि भोट बिक्री भएको उल्लेख गर्दै वैद्यले निर्वाचन बहिष्कार गरिए पनि भोक एक न एकतिर जाने भन्दै कार्यकर्तालाई आश्वस्त पार्न खोजेका थिए ।

रुपचन्द्रले जस्तै चुनावी प्रचार गर्न सुझाव

क्रान्तिकारी माओवादीका अध्यक्ष वैद्यले रुपचन्द्र विष्टले जस्तै चुनावी पर्चासमेत बिक्री गरेर आर्थिक जुटाउनसमेत सुझाए । ‘रुपचन्द्र विष्टले पर्चा बेचेर चुनावको प्रचार गर्न लगाए’, वैद्यलाई उद्धृत गर्दै सहभागी प्रतिनिधिले भने, ‘रुपचन्द्रले एक एक मोहर लिएर पर्चा बिक्री गर्नु हुन्थ्यो ।’

वैद्य माओवादी तेस्रो शक्ति बन्ने दाबी

स्थानीय तहको निर्वाचनमा सून्य नतिजा ल्याएको वैद्य माओवादी आगामी निर्वाचनमा भने तेस्रो शक्ति बन्ने दाबी गरे । एमाले, माओवादी केन्द्र र नयाँ शक्ति एकातिर र कांग्रेस सहितका शक्ति अर्कोतिर भएमा आफ्नो पार्टी तेस्रो शक्ति बन्ने उनको दाबी थियो ।
केन्द्रीय नेताहरु नै निर्वाचनमा उठ्नुपर्ने भन्दै वैद्यले निर्वाचनको उपयोग गर्नै पर्ने तर्क पेश गरे । गाउँ गाउँमा जनसभा तथा भण्डाफोर गर्नुपर्ने तर निर्वाचन बहिष्कार गर्न नहुने वैद्यले तर्क गरे ।

बैद्यको दस्तावेजमाथि आएको फरक मतको निश्कर्ष सुनाउने क्रममा बैद्यले निर्वाचनबारे धारणा राखेपछि फरक मत राखेका नेता रामसिंह श्रीसले पार्टी विधानबारे धारणा राखेका थिए । प्रतिनिधि, पर्यवेक्षकको सुझावअनुसार केन्द्रीय प्रतिनिधि परिषद् खारेज गर्न पार्टी सहमत भए पनि पार्टीको नाम परिवर्तन नगर्ने तथा अनुशासन आयोग पनि गठन गर्नु आवश्यक नभएको श्रीसले निश्कर्ष सुनाएका थिए । साथै जनयुद्धको सिंहावलोकन गर्नुपर्ने प्रस्ताव फिर्ता लिएको बताएका श्रीसले माओवाद कि विचार भन्ने मत ‘रिजर्भेसन’ रहने बताएपछि कार्यकर्ताले अस्वीकार गर्दै मत विभाजनको माग गरेको अर्का प्रतिनिधिले जानकारी दिए ।

सम्मेलन लम्बियो
सम्मेलनमा प्रतिनिधि पर्यवेक्षकको भाव विपरित केन्द्रीय सचिवालयले पेलेर अघि बढ्न खोजेको भन्दै विरोध जनाएपछि बुधबार दिउँसो २ बजे आधा घण्टाका लागि स्थगित सम्मेलन लम्बिएको छ ।

बुधबार नै सम्मेलन सक्ने कार्यक्रम भए पनि नेता एकातिर र कार्यकर्ता अर्कातिर देखिएपछि सम्मेलन एक दिन पर धकेलिएको छ । सम्मेलन रोकेर बसेको सचिवालय बैठकले यसबारे निर्णय दिन नसकेपछि थप छलफल गर्न भन्दै केन्द्रीय समितिको बैठक बोलाइएको थियो । कार्यकर्ताले विरोध गरे पनि सीपी गजुरेल मोर्चाको देशभक्त जनगणतान्त्रिकका केन्द्रीय नेतृत्वले प्रत्यक्षतर्फ लड्ने आश्वासन दिएर थामथुम पार्ने प्रयास गरेको क्रान्तिकारी माओवादीका एक केन्द्रीय सदस्यले बताए ।रातोपाटि ।

 




..
Just In KhabarSite
© all rights reserved
Crafted with by NetKUTI