हङकङमा भैलो खेलेर २७ लाख संकलन

आइतबार आयोजित देउसी–भैलो कार्यक्रमबाट मगर संघ हङकङले २७ लाख संकलन गरेको छ। सो रकम संघले नेपालमा शैक्षिक कोष खडा गर्न उपयोग गर्नेछ । नवनिर्वाचित मगर संघ कार्यसमितिले पहिलो कार्यक्रमको रुपमा नेपालमा गरिब र जेहेन्दार विद्यार्थीका लागि अक्षयकोष खडा गरी सहयोग गर्ने निर्णय गरेको थियो ।

बोलकबोल र आइतबार मंकी हिलमा गरिएको भैलो कार्यक्रमबाट २ लाख ४७६ हङकङ डलर (करिब २७ लाख नेपाली रुपैँया) संकलन भएको संघका प्रचार संयोजक तुलसीराज राना बताउँछन्। मगर संघ हङकङ संस्थापक रहने गरी स्थापना गर्न थालिएको अक्षयकोषका लागि पन्ध्र हजार हङकङ डलरभन्दा बढी रकम दिनेलाई संरक्षक संस्थापक र ५ हजार भन्दा बढी सहयोग गर्नेलाई संस्थापक सदस्यको मान्यता दिइनेछ। अहिलेसम्म संरक्षक संस्थापक ५ जना र संरक्षक सदस्य १० जना बनिसकेका छन्।

आइतबार मङ्की हिलमा अन्य कुनै संघ–संस्थाको कार्यक्रम नजुधेको कारण देउसी–भैलो कार्यक्रममा मगरहरुको व्यापक उपस्थिति रहेको तुलसीराज रानाले जानकारी दिए। सो कार्यक्रम मगरहरुका पूजारी प्रेम गलामी मगर, प्रमुख अतिथि मगर संघ हङकङका भूपू महासचिव तथा गोर्खा समाज हङकङका निवर्तमान अध्यक्ष भीम थापा मगर र मगर संघ हङकङका अध्यक्ष युगमाया रानाले संयुक्त रुपमा दीप प्रज्वलन गरेर उद्घाटन गरेका थिए।

पुन मगर समाज हङकङका सचिव चुक प्रसाद पुन र महासचिव निलम थापाले सञ्चालन गरेको सो कार्यक्रमका विशेष अतिथि प्रेम गलामी मगरले देउसी–भैलो कार्यक्रमका लागि शुभकामना मन्तव्य दिएका थिए। मगर संघ हङकङका उपाध्यक्ष सुमन थापा मगरले शैक्षिक विकास कोषको बारेमा प्रकाश परेका थिए।




..
Just In KhabarSite
© all rights reserved
Crafted with by NetKUTI