कांग्रेसले चुनाव सार्ने षड्यन्त्र गरेको भन्दै एमाले द्वारा आपत्ति, चुनाव तोकिएकै समयमा हुनुपर्छ

काठमाडौं– सरकारले आगामी मंसिर १० र २१ गतेको प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन सार्ने तयारी गरिरहेको भनिएको बेला नेकपा एमालेले तोकिएकै मितिमा चुनाव हुनुपर्नेमा जोड दिएको छ ।

एमालेको मंगलबार बसेको स्थायी समिति बैठकले निर्वाचन सारिए लोकतन्त्रमाथि खतरा हुने निष्कर्ष निकालेको हो । ‘निर्वाचन सार्नु भनेको लोकतन्त्रमाथिनै खतरा हो । सरकारमा रहेका मन्त्रीहरु फिर्ता पठाइन खोजिनु आचारसंहिता र कानून विपरितको काम हो ’ बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै एमाले उपाध्यक्ष भीम राववले भने, ‘यो काम सरकारबाट नहोस् ।’

उनले एमालेसहितको माओवादी र नयाँ शक्तिबीचको बाम गठबन्धन चुनावको तयारीमा जुटिसकेको भन्दै मिति दायाँबायाँ पार्ने कार्य नगर्न सरकारलाई चेतावनी दिए ।

बैठकले बाम गठबन्धनबीच भएको सहमतिअनुसार छिट्टै सिटहरुको बाँडफाँड गर्ने निर्णय गरेको छ । यस्तै असोज २७ र २८ गते बस्ने स्थायी समिति बैठकले एमालेका सबै समानुपातिकका उम्मेदवारको नाम टुंगो लगाएर निर्वाचन आयोगमा बुझाउने निर्णय पनि बैठकले गरेको छ ।
यस्तै बाम गठबन्धनको एकताका साथै अरु धु्रविकरणलाई निरन्तरता दिने, चुनावी माहोल तताउन देश र प्रवासमा अभियान चलाउने निर्णय समेत बैठकले गरेको छ ।

यसैबीच एमाले बैठकले नयाँ वानेश्वरमा सोमबार निर्माण व्यवसायी संघका अध्यक्ष शरद कुमार गौचनको हत्या भएको प्रति दुःख व्यक्त गरेको छ । बैठकले तत्काल दोषीलाई कानुनी कठघरामा उभ्याई कडाभन्दा कडा कारबाही गर्न माग गरेको छ ।




..
Just In KhabarSite
© all rights reserved
Crafted with by NetKUTI