नेपाली सिनेमा उद्योगलाई फाप्दैछ ‘२’

चलचित्र ‘नाइ नभन्नु ल’का ४ सिरिज रिलिज भए । ४ वटा सिरिजमा एकसँग अर्को चलचित्रको कथामा कुनै कनेक्शन नै थिएन । तर, चलचित्र भने एउटै नामका कारण चले । निर्देशक विकास आचार्यले ‘नाइ नभन्नु ल ५’ बनाउने तयारी थालिसकेका छन् । सिरिज हिट गराउने एक मात्र भाग्यमानी निर्देशक हुन्, आचार्य ।

यी बाहेक हिट चलचित्रका पछाडि ‘२ वा रिटन्र्स’ राखेर बनाइएका चलचित्र चलेनन् । ‘पापी मान्छे २, हिम्मत २ देखि सायद २’ सम्म, सबैले हावा खाए । नेपाली चलचित्रमा पछाडि २ झुण्ड्याइएका चलचित्र चल्दैनन् भन्ने परिसकेको थियो ।

तर, यो बर्ष नामको पछाडि ‘२’ राखेर तयार पारिएका चलचित्रले नै हंगामा मच्चाइरहेका छन् । चलचित्र ‘प्रेमगीत २’ले यो बर्ष राम्रो व्यापार गर्‍यो । ‘प्रेमगीत’को नाम मात्र सापटी लिएर पछाडि ‘२’ राखेर यो चलचित्र बनाइएको हो । चलचित्रले ५१ दिनको सेलिव्रेशन समेत आयोजना गरिसकेको छ ।

भदौ १६ गतेबाट रिलिज भएको चलचित्र ‘ए मेरो हजुर २’ले पनि हंगामा मच्चायो । यो चलचित्रको पनि नाम मात्र सापटी लिइएको हो, कथावस्तुमा कुनै कनेक्शन छैन । झरना थापाको डेब्यू निर्देशनमा बनेको यो चलचित्रको व्यापारले नेपाली चलचित्रलाइ ‘२’ फाप्छ भनेर देखायो ।

असोज ११ गतेबाट चलचित्र ‘छक्का पन्जा २’ रिलिज भयो । चलचित्रको सुरुवातमै भनिएको छ, यसको कथा ‘छक्का पन्जा’सँग मिल्दैन । कथावस्तु नमिलेपनि नामकै ब्रान्डले यसको इनिसियल व्यापारमा ठूलो फाइदा मिल्यो । जसकाकारण, चलचित्रले एक सातामै ७ करोड भन्दा बढी कमाइसकेको छ ।

यो बर्ष ३ वटा पछाडि ‘२’ झुण्ड्याइएका चलचित्र हिट भए । गतबर्ष पनि ‘लूट २’ हिट भएको थियो । ‘लूट’ चलचित्र हिट भएपछि निर्देशक निश्चल बस्नेतले यसको सिक्वेल नै बनाएका थिए । चलचित्रले राम्रो समिक्षा नपाएपनि व्यापार भने राम्रो गर्‍यो । अब, फेरि यस्तै ट्रेण्ड नेपाली चलचित्रमा विकास हुने पक्का छ । अनलाइनखबर ।




..
Just In KhabarSite
© all rights reserved
Crafted with by NetKUTI