काठमाडौँका जनप्रतिनिधिलाई ७ करोडको गाडी, १० लाखको फोन , २०-२० लाख उपचार खर्च

२२ साउन, काठमाडौं । काठमाडौं महानगरपालिकाले जनप्रतिनिधिको तलबभत्ता, पोसाक खर्च लगायतका सुविधाका लागि झण्डै ६ करोड बजेट छुट्याएको छ । महानगरपालिकाले सवारी साधन खरिद शीर्षकमा ७ करोड रुपैयाँ पनि बिनियोजन गरेको छ ।

आर्थिक वर्ष २०७४/७५ को बजेटमा जनप्रतिनिधिको तलबभत्ता, पोसाक खर्च लगायतका सुविधाका लागि ५ करोड ७५ लाख बजेट छुट्याइएको हो । जसमा तलब र पारिश्रमिकका लागि मात्र २ करोड १५ लाख छुट्याइएको छ ।

परिवहन सुविधा र विविध खर्च शीर्षकमा ३ करोड, टेलिफोन सुविधा शीर्षकमा १० लाख रकम छुट्याइएको छ । महानगरका जनप्रतिनिधिको उपचार खर्चमा समान २०-२० लाख रुपैयाँ छुट्याइएको छ ।

महाननगरपालिकाले यो वर्ष कर्मचारी र जनप्रतिनिधिका लागि झण्डै ८० करोड रुपैयाँ तलब, भत्ता र सुविधामा खर्च गर्नेछ ।

यसैगरी महानगरपालिकाले कर्मचारी र जनप्रतिनिधिका लागि सवारी किन्न ७ करोड रुपैयाँ छुट्याएको छ । महानगरको यन्त्र उपकरण खरिदका लागि २६ करोड रुपैयाँ विनियोजन गरेको छ ।

यो वर्ष महानगरले ८ अर्ब ९८ करोड रुपैयाँ भौतिक पूर्वाधार सुधार र विकास खर्चका लागि छुट्याएको छ ।

महानगरपालिकाले कुल १२ अर्ब ८७ करोड रुपैयाँको बजेट ल्याएको छ ।


आफ्नो प्रतिक्रिया दिनुहोस |
Don't Miss
© all rights reserved
Crafted with by NetKUTI