बिदेशमा अलपत्र नेपालीलाई उद्दार गर्न सरकार सक्रिय , निशुल्क वकिल व्यवस्था हुने

काठमाडौँ : वैदेशिक रोजगारीका सिलसिलामा विभिन्न मुलुक पुगी अलपत्र परेका नेपाली कामदारको उद्धार कार्यमा परराष्ट्र मन्त्रालयले सक्रियता बढाएको छ।

विदेशी भूमिमा अलपत्र नेपालीलाई उद्धार गर्ने क्रममा नुवाकोट जिल्ला पञ्चकन्या–४ थप्रेककी ४८ वर्षीया सीता तामाङ नेपाल आइपुगेकी छन्। एक वर्षअघि वैदेशिक रोजगारीको सिलसिलामा उनी कुवेत पुगेकी थिइन्।

आफूलाई नेपाल फर्काउन गरिएको पहलप्रति खुसी व्यक्त गर्दै तामाङले आज परराष्ट्र मन्त्रालयमा उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरासँगको भेटमा नेपाल झिकाउन पहल गरेकोमा धन्यवाद दिइन्।

उनले कुवेतमा आफूले भोगेका दुःख र कष्टका कथा सुनाइन्। विसं २०७३ असार २५ गते आफू त्यहाँ पुगेदेखि निरन्तर मालिकको कुटाइमा परेको र कुटाई सहन नसकेर भाग्न लाग्दा आफ्नो खुट्टा भाँचिएको उनको भनाइ थियो।

उनका अनुसार खुट्टा भाँचिएपछि अस्पताल भर्ना भएको अवस्थाबाट प्रहरीले लगेर १५ दिन हिरासतमा राखेको र त्यसपछि पुनः मालिकले लगेर आफूलाई पटक–पटक कुट्ने गरेको र अन्य व्यक्तिकामा श्रमका लागि बिक्री गरेको थियो।

अन्ततः फोनका माध्यमबाट दूतावासको सम्पर्कमा पुग्न सफल भएको र परराष्ट्रमन्त्रीको प्रमुख स्वकीय सचिव युवराज चौलागाईँको निरन्तर पहलमा आफू नेपाल आउन सफल भएको उनले बताइन्।

मन्त्रालयकै पहलमा एक साताअघि पाँचथर घरभएकी रञ्जिता तामाङलाई ओमनबाट तथा श्यामकुमार बोहोरा, शेरबहादुर नेपाली र रवीन्द्रकुमार यादवलाई मलेसियाबाट उद्धार गरिएको छ। त्यसैगरी, वैदेशिक रोजगारीको सिलसिलामा दुबई पुगेका १५ नेपालीको केही दिनअघि उद्धार गरी नेपाल फर्काइएको छ।

कतारबाट नरबहादुर मगरको उद्धार गरिएको छ। कार्यस्थलमा खटिएका नेपाली कामदारहरू गंगाराम कुँवर, हरि खत्री र वसन्त कुँवरको मृत्यु भएको र आफन्तलाई एकमुष्ट एक लाख ५९ हजार ८६० कतारी रियल क्षतिपूर्ति उपलब्ध गराइएको मन्त्रालयले जनाएको छ।

भेटपछि उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले मन्त्रालयको जानकारीभन्दा बाहिर भएका धेरै नेपालीले दुःख पाएको हुनसक्ने भन्दै त्यस्ता सबै नेपाली कामदारको उद्धारका लागि पहल गर्ने विश्वास दिलाए।

मन्त्री महराले व्यवस्थापिका–संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिसँग सहकार्य गरेर रोजगारीका लागि नेपाली मजदुरलाई विदेश पठाउने कम्पनीहरुको कडाइका साथ नियमन गरिने पनि बताए। रासस


आफ्नो प्रतिक्रिया दिनुहोस |
Don't Miss
© all rights reserved
Crafted with by NetKUTI