रातको ५० हजारमा यौन व्यापार गर्ने को हुन् यी नेपाली ? प्रहरी के गदै छ ?

तीन दसकयता नेपाली चेलीहरू भारतका विभिन्न सहरमा पुर्याएर यौन धन्दामा लगाउने प्रवृत्तिमाथि विशेष गरेर गैर सरकारी क्षेत्रले गम्भीर चासो देखायो । गैससको अभियानमा सरकारले पनि साथ दियो । जसको परिणाम धन्दा चलाउनेहरू कारबाहीमा पर्न थाले । भारतको मुम्बई लगायतका विभिन्न सहरका कोठीमा रहेका सयौं नेपाली चेलीहरू नेपाल फर्काइए, उनीहरूमध्ये कतिपय समाजमा पुनस्र्थापितसमेत भए । माइती नेपाल यौन धन्दामा लगाइएका, लागेका चेलीहरूलाई त्यस्तो नरकबाट समाजमा पुनस्र्थापना गराउन भूमिका खेल्ने अग्रणी संस्था हो । त्यस्तै शक्ति नेपाल, जो पहिला आफैँ नारकीय जीवन बिताएकाहरूले चलाएको संंस्था हो । यसले पनि नेपालका कुनाकन्दराबाट भैरहेको यौन धन्दा रोक्ने अभियान चलायो । अहिले पनि विभिन्न गैससहरू अभियान चलाइरहेका छन् । मुख्य नाकाहरू र सीमा नाकामा गैर सरकारी संस्थाहरूले गहिरो निगरानी गरिराखेका हुन्छन् । झुक्याएर नेपाली चेलीलाई यौन धन्दामा फसाइँदै छ कि भन्ने उनीहरूको चासो हुन्छ । समाजमा यस्तो पेशाबारे जनचेतना फैलाउने काम पनि भएका छन्, हिजो जस्तो आज सजिलै कसैलाई यौनधन्दामा फँसाउने, भारतका गोठीहरूमा लगेर बिक्री गर्ने काम सहज छैन । तर प्रविधिको विकाससँगै यौन पेशा अर्थात महिलाले आफ्नो शरीर बेचेर पैसा कमाउने धन्दाका विभिन्न रूप विकसित भएका छन् । नेपाल यस मामलामा बदनाम बन्दै गएको छ ।

कतिपय चेलीहरू अब जानीजानी यौनकर्ममा संलग्न हुँदै गएको देखिन्छ । काठमाडौँका होटलमा हुने धन्दा हुन्, पोखरामा चलेको रात्रि जीवनको मस्तीमा फस्टाएको ‘फ्लेस ट्रेड’ होस् वा मेचीदेखि कालीसम्मको हाइवेमा चलेको मदिराको व्यापारमा घुलमिल भएको देह व्यापार– जताततै जानाजान शरीर बेच्नेहरू भेटिन्छन् । झुक्याउने भन्दा पनि गरिबी लगायतका बाध्यता, महँगो जीवनशैली र सहजै पैसा कमाउने रहरका कारण देह व्यापारमा लाग्नेहरुको संख्या क्रमशः उकालो लाग्दैछ । यौन व्यापारले पेशाको रूप लिँदैछ । हाम्रो सरकार त्यसको विरोधमा छ । नेपालमा अश्लील समाग्री र क्रियाकलाप कानुनीरूपमा बन्देज छन् । अहिलेको द्वन्द्व यसैमा छ । सरकारको नियम कानुनले बन्देजको कुरा गर्छ, त्यसैले प्रहरी र सरकारी निकाय समाजमा ‘ओपेन सेक्रेट’ पेशामा मौसमी नियन्त्रणका काम र कुरा गर्छन् । यी त भए भौतिकरूपमा हुने कारोबार जहाँ मिडिएटर वा यौनकर्मी आफैँले ग्राहकसँग डिल गर्ने कुरा तर अहिले राजधानी लगायतका ठूला सहरमा ई–वेश्यालय मौलाएको पाइन्छ ।

इन्टरनेट, एउटा ल्यापटप वा इन्ड्रोइड मोबाइलको प्रयोगबाट मात्र पनि ई–वेश्यालय सञ्चालन सम्भव छ । प्रहरीले छापा मार्ने, रंगे हात पक्राउ गर्ने परम्परागत प्रचारात्मक शैली भन्दा ई–वेश्यालय फरक छ । इन्टरनेट प्रविधिमा आधारित धन्दा भएकाले प्रहरी पनि त्यस्तै हतियार अर्थात इन्टरनेटसँग जोडिएका साइबर अपराध नियन्त्रण गर्ने काममा हुनुपर्छ । विडम्बना, प्रहरीसँग त्यस्तो काम नियन्त्रण गर्ने प्रविधि, जनशक्तिको चरम अभाव देखिन्छ । नेपाल प्रहरीको अपराध अनुसन्धानमा संलग्न सीमित जनशक्ति र साधन स्रोतबाट ई–वेश्यावृत्तिको भेउ पाउन सम्भव छैन । त्यसै पनि प्रहरीका लागि इन्टरनेटबाट हुने अपराध र धन्दा चुनौती बन्ने गरेको छ ।

समाज निरन्तर चलायमान हुन्छ, परिवर्तनशील हुन्छ । सञ्चार प्रविधिले सामाजिक परिवर्तन तीव्रतर बनाएको हामी पाउँछौँ । समाजमा हुने परिवर्तनसँगै सुरक्षा चुनौती थपिने हुन्छन् । त्यसैअनुसार प्रहरी पनि साधन, स्रोत र प्रविधिमा एक कदम अगाडि हुनु आवश्यक छ तर हाम्रो प्रहरी प्रशासन अगाडि होइन, प्रविधि प्रयोगले उच्च गतिमा दौडिरहेको समाजको पछिपछि लागेको देखिन्छ । यसै कारण ई–वेश्यावृत्तिमा प्रहरी उजुरीहरू सुन्ने मात्र तर केही गर्न नसक्ने निरुपाय संयन्त्र जस्तै देखिन्छ । साइबर अपराध नियन्त्रणको मामलामा कमजोर प्रहरीलाई साधनस्रोत सम्पन्न बनाउनु आजको आवश्यता हो । प्रहरी संयन्त्र कमजोर राख्दा अवैध धन्दा मौलाउने खतरा हुन्छ । प्रहरी ई–वेश्यालय जस्तै इन्टरनेटबाट गरिने धन्दाहरूबारे जानकारी पाएर पनि केही गर्न नसक्ने अवस्थामा रहनु राम्रो होइन । प्रहरीलाई त्यस्ता इन्टरनेट साइटहरू बन्द गर्नेसम्मको अधिकार र कानुन आवश्यक हुन्छ । ई–वेश्यावृत्ति इन्टरनेटबाट हुने अनेकौँ अपराधमध्येको एउटा हुनसक्छ ।


आफ्नो प्रतिक्रिया दिनुहोस |
Don't Miss
© all rights reserved
Crafted with by NetKUTI