आज वैशाख कृष्णऔँसी – आमाको मुख हेर्ने दिनका रुपमा मनाइँदै

काठमाडौँ । नौ महिनासम्म गर्भमा राखेर जन्म दिने आमालाई सम्मान गर्न वैशाख कृष्णऔँसीका दिन आज आमाको मुख हेर्ने दिनका रुपमा मनाइँदैछ ।

जीवित आमालाई मीठो खान लाउन दिई सम्मान गरिन्छ भने दिवङ्गत आमाको सम्झनामा तर्पण, पिण्ड दान र श्राद्ध गरी सम्झना गरिन्छ । आजका दिन मातृश्राद्ध गरे अक्षय पुण्य प्राप्त भई आमाले तृप्ति पाउने शास्त्रमा उल्लेख गरिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतम बताउनुहुन्छ ।

“शास्त्रमा बाबुभन्दा आमा दशगुणा बढी मान्य हुन्छिन् भनी व्याख्या गरिएको छ, ‘मातृदेवो भवः’ भनेर सबैभन्दा पहिले भनिन्छ, त्यसपछि मात्र ‘पितृदेवो भवः’, ‘आचार्यदेवो भवः’ भनिन्छ, यसैबाट शास्त्रले आमालाई महत्व दिएको स्पष्ट हुन्छ”– उहाँले भन्नुभयो । “कुपुत्रो जायेत क्वचिदपि कुमाता न भवती” अर्थात् छोरा कुपुत्र भए पनि आमा कहिल्यै कुआमा हुँदिनन् भन्ने भनाइ नै छ ।

जीवित अथवा दिवङ्गत दुवै आमाको तृप्तिका लागि आजको दिनलाई पुण्यतम पर्व मानिन्छ । आजका दिन काठमाडौँको पश्चिमी भेगमा रहेको मातातीर्थमा आमाको सम्झनामा श्राद्ध गर्ने भक्तजनको भिड लाग्छ । बौद्ध धर्मावलम्बी समेत यहाँ दिवङ्गत आमाको सम्झनामा श्राद्ध गर्न आउँछन् ।

मुलुकका विभिन्न भागबाट आएका दर्शनार्थीले मातातीर्थका धारामा स्नान गरी माताको मन्दिरमा पूजा गरेर कुण्डमा दिवङ्गत आमाको मुख हेर्ने गर्दछन् । दिवङ्गत आमाको सम्झनामा तर्पण, सिदा दान र पिण्ड दान गरी श्राद्ध गर्ने दर्शनार्थीको समेत भीड लाग्ने गर्दछ । आज यहाँ आई आमाको नाममा सङ्कल्प गरेर श्राद्ध गरेमा कहिल्यै नाश नहुने पुण्य प्राप्त भई दिवङ्गत माता खुसी हुने शास्त्रमा वर्णन गरिएको गौतमले जानकारी दिनुभयो ।

आजको दिन मातातीर्थमा रोटी खसेको र उक्त रोटी खसेको ठाउँमा दिवङ्गत आमाका मुख देखेको जनविश्वास छ । द्वापर युगमा गाई चराउन गोठालो आएका ग्वालाले खाजाका लागि ल्याएको रोटी कुण्डमा खसेपछि हेर्दा दिवङ्गत आमाको मुख देखेर रुन थालेका थिए । संयोगले त्यो दिन वैशाख कृष्ण औँसीको दिन परेको थियो ।

कुण्डमा देखिएकी आमाले ती ग्वालालाई नरोऊ प्रत्येक वर्ष वैशाख कृष्ण औँसीका दिन हामी दिवङ्गत माता यहाँ आउँछौँ भनेपछि त्यसैबेलादेखि मेला लाग्न थालेको मातातीर्थ संरक्षण तथा विकास समितिका सल्लाहकार भाइकृष्ण बलामीले जानकारी दिनुभयो ।

आमा हुनेहरूले आजका दिन आफूलाई मन पर्ने मीठा मीठा खानेकुरा र वस्त्र आमा लगायत गुरुआमा, सासू र काकीहरूलाई दिने र आशीर्वाद ग्रहण गर्छन् ।

आमाको मुख हेर्ने दिन : अन्धाअन्धी स्थानमा भक्तजनको घुइँचो

गौशाला, १३ वैशाख । वैशाख कृष्ण औँसी अर्थात् आमाको मुख हेर्ने दिन आज बिहानैदेखि महोत्तरी जिल्लाको बगडा गाविसमा अवस्थित प्रसिद्ध ऐतिहासिक अन्धाअन्धी स्थानमा भक्तजनको घुइँचो लागेको छ ।

आमाबुबालाई आफ्ना सर्वस्व मान्ने र आमाबुबाकै सेवालाई महान् धर्म मान्नेका आस्थाका केन्द्र मानिएको सो स्थानमा आज आमाको मुख हेर्ने दिनमा भक्तजनको घुइँचो लागेको स्थानीयवासी बताउँछन् ।

जिल्लाको उत्तरपूर्वी कुनामा धनुषा जिल्लासँग जोडिएर रहेको बगडा–९ मा अवस्थित रामायणकालीन अन्धाअन्धी स्थानले पौराणिक एवम् धार्मिक महत्व बोकेकाले यहाँ हजारौँ महिला–पुरुष दर्शनका लागि आएको स्थानीयवासी शङ्कर यादवले बताउनुभयो ।

रामायणकालमा मातापिताका अनन्य भक्त श्रवण कुमारका मातापिताले यसै स्थानमा राजा दशरथको शब्दभेदी बाण लागेर आफ्नो छोरा श्रवण कुमारको मृत्यु भएको सुनेपछि आफ्नो प्राण त्याग गरेको किंवदन्ती रहेको छ ।

विगतका दिनमा यस स्थानमा दैनिक मेला लाग्ने गरेको तथा टाढा टाढाका दर्शनार्थीको ओइरो लाग्ने गरेकामा अहिले यहाँ कहिलेकाहीँ विशेष दिन जस्तै आमाको मुख हेर्ने वा बुबाको मुख हेर्ने दिनमा मात्रै श्रद्धालु आउने गरेको कुरा स्थान नजिकै बस्ने सीताशरण यादवले बताउनुभयो । आजका दिन यस अन्धाअन्धी स्थानमा महोत्तरी, धनुषा, सर्लाही, सिरहा, सिन्धुलीलगायत भारतका पटनासम्मका मानिस आउने गरेको स्थानीयवासी विकाऊ यादवले बताउनुभयो ।

आमा, बुबा नभएकाले यस स्थानमा आफ्ना आमाबुबाको सम्झना गर्दै आमा तथा बाबुको मुख हेर्ने दिनमा ठूलो सङ्ख्यामा आउने र अन्धाअन्धी स्थानलाई आफ्ना आमाबुबाको सम्झनाको केन्द्र बनाएको स्थानीय वृद्ध नथुनी यादवले बताउनुभयो ।

रामायणकालमा मातापिताका अनन्य भक्त तथा परम आज्ञाकारी छोरा श्रवण कुमारले आफ्ना तिर्खाएका अन्धाअन्धी बाबुआमालाई महोत्तरीको बगडा–९ स्थित यसै ठाउँमा राखेर तिर्खा मेटाउन पानी ल्याउन नजिकैको महदैया तपनपुर–४ स्थित कमलदहमा गएको बेला राजा दशरथको शब्दभेदी बाण लागी मृत्यु भएको र आफ्नो छोरा मरेको सुनेर अन्धाअन्धीले पनि यसै ठाउँमा प्राण त्याग गरेको किंवदन्ती छ ।

अन्धाअन्धीले प्राण त्याग गरेको दिनदेखि नै यो स्थान अन्धाअन्धी स्थानको नामले स्थापित एवम् चर्चित भएको छ भने यस स्थानमा विभिन्न समयको अन्तरालमा मन्दिर पनि बनाइएको थियो ।

तर सम्बन्धित निकायको उदासीनताका कारण यस स्थानको संरक्षण संवद्र्धनका लागि कुनै पनि पहल हुन नसक्दा यो पौराणिक स्थान ओझेलमा पर्दै गएको छ । धार्मिक एवम् ऐतिहासिक यस अन्धाअन्धी स्थानको संरक्षण, संवद्र्धन गरी पर्यटकीयस्थलका रुपमा विकास गर्न स्थानीयवासीले माग गरेका छन् ।


आफ्नो प्रतिक्रिया दिनुहोस |
Don't Miss
© all rights reserved
Crafted with by NetKUTI