जब अस्पतालमा माग्नेलाई के पि ओली भनेर बोलाईयो

काठमाडौं । हाँस्य क्षेत्रका हस्ती केदार घिमिरे माग्ने बुढाको स्वास्थ्य अवस्था अहिले राम्रो हुँदै गईरहेको छ । सोमबार नयाँ बानेश्वरमा आयोजित उनको ४३ औँ जन्मदिन विशेष कार्यक्रममा उनी आफैले आफू निको भईसकेको जानकारी दिएका छन् । बिरामी भएको समयमा उनले धेरै अस्पतालहरुमा उपचारको लागि धाउनु पर्यो ।

स्वास्थ्य उपचारको पहिलो चरणमा उनलाई युरिक एसिड भयो भनिएको थियो । उनले त्यसै अनुसार औषधि उपचार गरे । पछि उनले पेटको जाँच गरे जसमा उनलाई अल्सर भयो भनियो । अनि त्यसै अनुसार उनले औषधि उपचार गराए । त्यो अवस्था सम्म पनि आफ्नो स्वास्थ्यमा सुधार नआए पछि उनी एक प्राईभेट मानसिक अस्पतालमा पुगे । मानसिक अस्पतालमा डिप्रेशन भएको रिर्पाेट आयो । अनि उनले त्यसै अनुसार औषधि खाए । त्यहि क्रममा घटेको एउटा रमाईलो पल उनले जन्मदिनको अवसर पारेर सार्वजनिक गरेका छन् ।

खास कुरा के भएछ भने डिप्रेशन भएको थाहा पाएपछि पहिले उनले गैरसरकारी अस्पतालमा जँचाउने गरेका थिए । त्यहाँ विरामीहरु पनि कम हुन्थे । सेवा पनि राम्रो पाईथ्यो । तर उक्त अस्पताल घरबाट टाढा भएका कारण लगनखेलको मानसिक अस्पतालमा जानको लागि उनलाई उक्त गैरसरकारी अस्पतालले सुझायो ।

लगनखेलको मानसिक अस्पतालमा जाँदा केदारले केही अचम्मका दृश्यहरु देखे । कसैलाई नाङगै ल्याईएको थियो त कसैलाई थुनेर ड्याम.. ड्याम.. हानिँदै थियो । त्यहाँका विरामीको अवस्था देख्दा केदारलाई पनि आफू नराम्रोसँग रोगी भएछु भन्ने लागेछ । उपचारको लागि लाईनमा बस्नु पर्ने । विरामीको नाम बोलाउँदा पनि कुनै स्टेज कार्यक्रमहरुमा बोलाए झैँ ठूलो आवाजमा बोलाएको उनले त्यहाँ देखे । अनि त्यो भिडमा एक चर्चित कलाकारको नाम बोलाउँदा सबैले चिन्ने र पागल भन्ने डरले केदारलाई सताएछ । यहि कारण उनले आफ्नो नामलाई अलिकति परिवर्तन गरिदिएछन् ।

केदार प्रसाद घिमिरेको साटो उनले केपी घिमिरे भनेर नाम लेखाएछन् । अरुले चिन्ने डरले आफ्नो हुलिया पनि बदलेर दाह्री जुंगा काटेर उनी अस्पताल पुगेका उनको जाँचको क्रममा पालो आयो । उनको नाम ठूलो स्वरले के पी घिमिरे भन्नु पर्ने ठाउँमा के पी ओली आउनुहोस्……. भनेर बोलाईएछ । यो नाम देशकै चर्चित नेताको भएका कारण उनलाई झनै सबैले हेरेछन् । आफूलाई जे कुराको डर थियो त्यहि भएको भन्दै केदारले यो पल जीवनकै अविस्मरणीय भएको बताएका छन् । फर्सीनेटवर्कबाट साभार ।


आफ्नो प्रतिक्रिया दिनुहोस |
Don't Miss
© all rights reserved
Crafted with by NetKUTI